Monday, October 12, 2015

दशैं बिदा र गृहकार्य


देशभित्रको राजनीतिक उथलपुथल र भारतले लगाएको नाकाबन्दिका बिच नेपलीहरुको महान् चाड दशैँ पनि आइसकेको छ। नाकाबन्दि र तराई बन्दले गर्दा किनमेल, घरको रंगरोगन देखि लिएर दशैँको उपलक्ष्यमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमजस्ता मनोरञ्जनात्मक गतिविधिमा कमी आउने निश्चितप्राय नै छ । तरपनि, स्कुल, कार्यालयमा हुने लामो बिदा, रमाइलो मौसम र परम्परागत रुपमै 'मिठो खाने राम्रो लाउने' पर्वका रुपमा रहेकाले पनि दशैं आम नेपालीका लागी एक उल्लासमय पर्वका रुपमा रहेको छ । स्वाभावैले बालबालिका दशैंमा बढि रमाउने गर्दछन । महिना दिन लामो बिदा, घरमा हुने चहलपहल, खानपिन, नयाँ लुगा र बेफिक्रीसंग घुम्न अनि खेल्न पाउने हुनाले दशैं बिदा उनिहरुका लागी विशेष हुने गर्दछ ।

नेपालका धेरैजसो जिल्लाका निजी र सामुदायिका विद्यालयहरुमा दशैंको पहिलो दिन घटस्थापनादेखि तिहारको केही दिन पछि आउने छठ पर्व सम्म करिब एक महिना बिदा दिइने गरिन्छ । एक महिनाको बिदा कुनै पनि शैक्षिक सत्रको लागि लामो समय हो र यो समयमा विद्यार्थीले विद्यालयमा पढेका कुराहरु बिर्सन सक्ने भएकाले बिदाको समयमा पनि सिकाइ प्रकृयालाई निरन्तरता दिन गृहकार्य दिने गरिन्छ । बिदाको समयमा रमाइलोको साथसाथै विद्यार्थीलाई निरन्तर नयाँ कुरा सिकाउने अर्थमा गृहकार्य दिनु ठिकै लाग्ला तर वास्तविकतामा हामीकहाँ दिइने गृहकार्यले विद्यार्थीको सिकाइमा योगदान दिनुभन्दा मानसिक तनाव पैदा गरी पढाईप्रति नै वितृष्णा जगाउन मद्दत गरिरहेको हुन्छ ।

लामो बिदा, खासगरी दशैं-तिहारको समयमा दिइने बिदा वास्वतमा विद्यार्थीरुको लागी आराम गर्ने र पुन: पढाइमा फर्कनका लागी शक्ति संचय गर्ने समयको रुपमा लिइनुपर्दछ । नेपालका प्राय: विद्यालमा दशैंअगाडि त्रैमासिक परिक्षा लिइन्छ जसले विद्यार्थीलाई मानसिक रुपमा थकाएको हुन्छ । यस्तो अवस्थामा दशैं बिदा उनिहरुलाई आराम गर्ने, साथिभाइ भेट्ने र बिदा समाप्त भएपछी वार्षिक परीक्षासम्म निरन्तर हुने पढाइको लागी आफूलाई तैयार गर्न 'ब्रेक'को रुपमा लिइनुपर्ने हो । तर यसबिचमा दिइने गृहकार्यले विद्यार्थीलाई यो महसुस गर्ने दिंदैन कि उ छुट्टीमा छ। यसै पनि स्कुल जीवनको सुरुदेखि नै घोडादौडमा लगाई  शैक्षिक प्रतिष्पर्धामा मात्र जोड दिने हाम्रो हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीले के सिक्न चाहन्छ भन्ने ख्याल नै नगरी एकोहोरो पाठ्यपुस्तकका कुरामात्र लादिन्छ, झन् लामो बिदाको समयमा पनि त्यहि कुरा गृहकार्यको रुपमा दिँदा उनिहरुले त्यसलाई सिकाई केहि नयाँ सिक्ने अवसर भन्दापनि गर्नैपर्ने बाध्यकारी कार्य (Chore) को रुपमा लिने गर्दछन् । यदि गृहकार्यलाई  सिकाई प्रकृयाकै एउटा अङ्ग मान्ने हो र त्यसैको आधारमा गृहकार्य दिइन्छ भने त्यसले विद्यार्थीको सिकाईमा पार्ने सकारात्मक र नकारात्मक प्रभावको मुल्याङ्कन पनि गरिनु पर्दछ। हामिकहाँ बिदा सुरु भएदेखिनै अधिकाँश विद्यार्थीको ध्याउन्न विभिन्न विषयका गृहकार्य सक्काउन मै रहन्छ जसले गर्दा न उनिहरुले कुनै रचनात्मक कार्य गरी बिदाको उपयोग गर्ने वातावरण बन्दछ नत हतारमा गरिएको (अझ कतिपय अवस्थामा त अरुको कापीबाट सारिएको) गृहकार्यबाट आवश्यक ज्ञान नै प्राप्त गर्न सक्दछन् ।

गृहकार्य पूर्णतया अनावश्यक भन्ने यो लेखको आशय होइन। विद्यार्थीको कक्षागत स्तर अनुसार केही मात्रामा दिइने गृहकार्यले विद्यार्थीलाई बिदाको समयमा पनि दिनमा निश्चित समय अध्ययनमा लगाउने गर्दछ ।खासगरी माध्यामिक       तहका विद्यार्थीलाई बिदाको समयमा विषयगत प्रोजेक्ट, खोज वा अनुसन्धान जस्ता गृहकार्य दिएमा उनिहरुको पढाइप्रतिको रुचिमा कमि आउँदैन । तर हामीकहाँ यसरी कक्षागत स्तर हेरेर भन्दा पनि सम्पूर्ण विद्यार्थीहरुलाई लगभग उति नै परिमाणमा गृहकार्य दिने चलन छ । यसले न उनिहरुको शैक्षिक विकास सम्भव हुन्छ न सामाजिक र मनोवैज्ञानिक रुपमा उनिहरु सबल हुन सक्दछन् । कतिपय अवस्थामा त बालबालिकालाई कक्षामा अभ्यास गराउनुपर्ने लेखाइ अभ्यास नै गृहकार्यको रुपमा दिइएको हुन्छ । यसरी कक्षामा शिक्षकले गराउनुपर्ने अभ्यास बालबालिकालाई आफै गर्न दिदा उनिहरुको लेखाइ सिप विकास हुन त पाउँदैन नै उनिहरुमा सानै उमेरदेखि पढाइप्रतिको रुचि पनि घट्न थाल्दछ । वास्तवमा यदि कक्षामा शिक्षकले कुनै विषयमा विद्यार्थीको रुचि जगाइदिने हो भने उनिहरु आफै विषयको बारेमा जानकारी लिन उत्सुक हुन्छन्, गृहकार्यको नाममा उनिहरुमाथी बोझ थोपरिरहनु पर्दैन । कक्षाकोठामा शिक्षक-शिक्षिकाले आफै पढाउँदा त विद्यार्थीको पढाईप्रति रुचि जगाउन नसकिएको स्विकार्नुहुन्छ भने त्यही कुरा घरमा उनिहरुलाई आफै अभ्यास गर्न लगाउनु कति व्यवहारिक होला र त्यसले सोचेजस्तो नतिजा दिन सक्ला? नियमित विद्यालय चलेको समयमा ठिकै लागे पनि दशैंबिदाजस्तो लामो बिदामा यो अभ्यास निरर्थक साबित हुने गर्दछ । आजभोलि पढाईसँगै अतिरिक्त क्रियालापहरुमा पनि सहभागी गराउँदै बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिनुपर्दछ भन्ने सोच धेरै शिक्षक अभिभावकहरुमा पलाउँदै आएको पाइन्छ र सो अनुसार खेलकुद, सङ्गित, साहित्यजस्ता कृयाकलापहरुमा उनिहरुलाई सहभागी पनि गराइन्छ। दशैं बिदाजस्ता लामा बिदाहरु उनिहरुलाई आफ्नो प्रतिभा पहिचान गर्न र सीप निखार्न निकै उपयोगी हुन सक्दछन् तर हाम्रा विद्यालयहरुमा दिइने गृहकार्यको बोझले गर्दा बालबालिकाहरुले आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्न त के राम्रोसँग बिदाको अनुभव पनि गर्न पाइरहेका हुँदैनन् ।

बालबालिकाको सिकाइ प्रकृया कक्षामा सिमीत बनाउनु हुँदैन । अझ प्रविधिको उच्च विकास भएको वर्तमान युगमा त यो सम्भव पनि छैन। टेलिभिजन र इन्टरनेटको बढ्दो पहुँचमाझ बालबालिकाले आफै पनि धेरै कुरा सिकिरहेका हुन्छन जुन कक्षामा नसिकाइएको पनि हुन सक्दछ । बिदाको समयमा उनिहरुले घुम्ने नयाँ ठाउँ, खाने नयाँ परिकार र बनाउने नयाँ साथी पनि सिकाइकै अङ्ग हुन् जसले उनिहरुको व्यक्तित्व निर्माण गर्दै थप सिक्नका लागी उत्प्रेरित गरिरहेका हुन्छन् । कक्षाकोठा र तोकिएको पाठ्यक्रममा सीमित सिकाईप्रक्रियालाई कक्षाबाहिर विस्तार गर्दै व्यवहारिक र जिवनोपयोगि ज्ञान हासिल गर्नका लागी यस्ता कार्यहरु वास्तवमा निकै प्रभावकारी हुने गर्दछन् । हाम्रो देशमा विद्यालय शिक्षामा सुधार, पाठ्यक्रममा आवश्यक संशोधन र परिमार्जन, शिक्षकहरुको क्षमता वृद्धिजस्ता विषयहरु शैक्षिक गुणस्तर वृद्धि गर्ने सन्दर्भमा बढि उठिरहेने सवालहरु हुन् तर यी कक्षाकोठामा गरिने औपचारिक सिकाइसँग मात्र सम्बन्धीत रहेका छन् । दशैंबिदाजस्ता लामा बिदाहरुमा बालबालिकाहरुलाई गृहकार्यको अनावश्यक भारी नबोकाईकनै सृजनात्मक तरिकाले गरिने सिकाईको बारेमा खासै चर्चा भएको सुनिदैंन । धेरै र बोझिलो गृहकार्य दिएमा मात्र विद्यार्थिले प्रशस्त अभ्यास गर्ने अवसर प्राप्त गरी सिकाइ प्रभावकारी हुन्छ भन्ने हाम्रा शिक्षक र आम अभिभावकहरुको बुझाइमा परिवर्तन ल्याउन र गृहकार्यको अनावश्यक बोझ हटाउन यससम्बन्धी बहसको थालनी गर्नु जरुरी देखिन्छ ।

No comments:

Post a Comment